Logo

सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त, प्रवक्तामा नारायणराज अधिकारी

सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ नियुक्त, प्रवक्तामा नारायणराज अधिकारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सूचनाअधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त भएका छन् । करिव २२ वर्ष देखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । भारतको पुणे स्थित सिम्बायोसिस इंस्टीट्यूट अफ बिजनेस म्यानेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन ,ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त नारायण राज अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

“भित्र सिस्टम र बाहिर इमेज” को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्केका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ६८ वटा शाखा, १ सय ११ वटा एटिएम र १ सय ९ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL