Logo

इन्भेष्टमेन्ट र हिमालय बैंकबीच मर्जर सम्झौता : बन्यो सबैभन्दा ठूलो बैंक, अध्यक्षमा पाँडे र सीईओमा राणा रहने

इन्भेष्टमेन्ट र हिमालय बैंकबीच मर्जर सम्झौता : बन्यो सबैभन्दा ठूलो बैंक, अध्यक्षमा पाँडे र सीईओमा राणा रहने



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा मर्जरमा जानका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज (बिहीबार) नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरसँगै बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुनेछ । यसैगरी संचालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना संचालक नियुक्त हुनेछन् । यस्तै स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्य अनुरुप बिग मर्जरको अवधारण अघि सारेको थियो । सोही अनुरुप यसअघि ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा मर्जर भईसकेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै एक आपसमा मर्जर हूँदा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने छ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २६ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रहेको छ । यी दुबै बैंक मर्जर पश्चात चुक्ता पूँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ ।

यसैगरी जडेगा कोषमा पनि सबैभन्दा बढी रकम हुने छ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ छ भने हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ छ । यसैगरी निक्षेप तथा कर्जा लगानीको आधारमा पनि बैंक ठूलो बन्ने छ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको १६८.२९ अर्ब र हिमालयन बैंकको १४३.७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने इन्भेष्टमेण्ट बैंकको १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्