Logo

आयात बढेसँगै शोधनान्तर बचत घट्यो, १ बर्षको आयात धान्ने विदेशी मुद्रा संचिती

आयात बढेसँगै शोधनान्तर बचत घट्यो, १ बर्षको आयात धान्ने विदेशी मुद्रा संचिती



काठमाडौं । पहिलो चरणको कोरोना संक्रमण पश्चात वैदेशिक व्यापारमा सहज हुँदा शोधनान्तर बचत खस्किन पुगेको छ । पहिलो चरणको कोरोना पश्चात व्यापार व्यवसाय संचालमा आउँदा कच्चा पदार्थ लगायत उद्योग व्यवसायका लागि आवश्यक सामग्री खरिदका लागि पैसा बाहिरिदा शोधनान्तर बचतमा केही गिरावट आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

समीक्षा अबधि अर्थात चालू आर्थिक बर्षको पहिलो ९ महिनामा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो महिना यस्तो बचत ६८ अर्ब रुपैयाँले बचतमा थियो । तर अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने शोधनान्तर स्थिति सुधारमै रहेको छ । गत बर्षको सोही अबधिमा यस्तो बचत ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको थियो ।

यसैगरी सो अबधिमा चालु खाता २०७ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १२६ अर्ब ९ करोड रुपैयाँले घाटामा रहेको थियो । पहिलो लकडाउन पश्चात विदेशबाट गरिने आयातको भुक्तानी तथा एलसी खोल्ने क्रम बढेसँगै शोधनान्तर बचतमा गिरावट तथा चालू खाता घाटा बढ्न थालेको हो ।

यसैगरी सो अबधिमा कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०७७ चैत मसान्तमा रु.१४३३ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.२ प्रतिशतले वृद्धि भई रु.१२५३ अर्ब १७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ चैत मसान्तमा २.५ प्रतिशतले वृद्धि भई रु.१८० अर्ब १० करोड पुगेको छ । २०७७ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.४ प्रतिशत रहेको छ ।

यसैगरी आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको तथ्याङ्कमा उल्लेख छ ।

सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने २५ प्रतिशतले कमी आई रु.१२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ४८ करोड रुपैयाँ भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL