Logo

मुक्तिनाथ विकास बैंकको नाफा अर्ब नाघ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि

मुक्तिनाथ विकास बैंकको नाफा अर्ब नाघ्यो, प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्ममा १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशत बढी हो ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँबाट बढेर ८२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफासँगै खर्च नियन्त्रण गर्न सफल हुँदा बैंकको नाफामा सुधार देखिएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.३० प्रतिशत बढेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसा बढेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत बढेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सो बराबरको बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेको हो ।

त्यस्तै बैंकको जगेडा कोष २३.८१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३९.४३ प्रतिशत बढेको छ भने कर्जा ४३.८९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL