Logo

कोरोना र राष्ट्र बैंकको टार्गेटले सहुलियत कर्जा लिने बढे, ८ महिनामा सवा खर्ब प्रबाह

कोरोना र राष्ट्र बैंकको टार्गेटले सहुलियत कर्जा लिने बढे, ८ महिनामा सवा खर्ब प्रबाह



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी सहुलियतपुर्ण कर्जा प्रबाह भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चालू अबको साउनदेखि फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ७७ हजार १९६ जनालाई १ खर्ब २४ अर्ब २८ करोड ४४ लाख रुपैयाँ बराबरको सहुलियत ऋण दिएका हुन् । राष्ट्र बैंकका अनुसार यस्तो ऋण बैंक तथा वित्तीय संस्थाहरुले ‘सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७५’ मा आधारित भएर दिएका हुन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले यो बर्ष यस्तो कर्जा प्रबाह गत बर्षको तुलनामा शतप्रतिशतभन्दा बढीले बृद्धि गरेका छन् । गत आवको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा ५९ अर्ब ५६ करोड ३० लाख रुपैयाँ बराबरको प्रवाह गरेको थिए । तर पछिल्लो समय नयाँ प्रोडक्टसँगै राष्ट्र बैंकले नै विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाहरुलाई टार्गेट तोकिदिएपछि यस्तो कर्जा बढेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार गत बर्षको मौद्रिक नीतिमै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रति शाखा न्युनतम १० जनालाई यस्तो कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी नियम बनाईएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुलाई यसको टार्गेट पुरा गर्नुपर्ने भएकाले यस्तो कर्जा बढेको उनको भनाई छ ।

चालु आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकका हरेक शाखाले १० वटा र विकास बैंकका शाखाले ५ वटा सहुलियत दरको कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था घोषणा गरिएको थियो । सोही व्यवस्थालाई समेटेर राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कम्तीमा ५ सय वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रियस्तरका विकास बैकले कम्तीमा ३ सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ, सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था ल्याएको छ ।

यही कारण पनि यस्तो कर्जा माग बढेको उनको भनाई छ । साथै पछिल्लो समय कोरोना भाईरसको महामारी फैलिएपछि शहरका मान्छे गाउँ जाने, विदेशका स्वदेश फर्कने प्रक्रियाले पनि यस्तो कर्जाको माग बढेको छ । ‘पछिल्लो समय युवाहरुलाई पनि स्वरोजगार बन्नुपर्छ भन्ने चेतना कोरोना महामारीले दिएको छ,’ उनले भने, ‘सोही अनुसार धेरै युवाहरुले शहरबाट गाउँ जाने र विदेशबाट स्वदेशमा आई यस्तो कर्जाको सदुपयोग गर्नुभएको छ ।’

राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनासम्म व्यवसायिक कृषि तथा पशुपालन कर्जा मात्रै ८८ अर्ब २९ करोड २३ लाख रुपैयाँ बराबरको विस्तार भएको छ । गत बर्षको यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा जम्मा ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विस्तार गरेका थिए ।

यस्तै कृषि कर्जापछि धेरै कर्जा प्रवाह भएको क्षेत्र महिला उद्यमशिल कर्जा हो । बैंक तथा वित्तीय संस्थाहरुले उक्त शिर्षकमा ३२ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रबाह गरेका छन् । गत बर्ष यो शिर्षकमा ३६ हजार ७ सय ६३ जनाले ४ अर्ब ३५ करोड रुपैयाँ लिएका थिए । यो बर्षको ८ महिनामा कपडा उद्योगीले पनि १ अर्ब ९२ करोड रुपैयाँ कर्जा लिएका छन् । गत बर्षदेखि सहुलियत दिन थालिएको यो शिर्षकको कर्जा भने यो बर्ष गत बर्षको तुलनामा ६३ करोड रुपैयाँ बढीले बढेको छ । गत बर्ष कपडा उद्योगीले ६४ करोड ८५ लाख रुपैयाँ यस्तो कर्जा लिएका थिए । गत बर्ष भन्दा अघि कपडा उद्योगीले यस्तो कर्जा पाउने गरेका थिएनन् ।

सरकारले एकिकृति कार्यविधि मार्फत कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको थियो । पछि कार्यविधि संशोधन गरी कपडा उद्योग र सीटीईभीटीलाई पनि जोडेर ९ प्रकारको कर्जा कार्यक्रम बनाइयो । पछि फेरि युवा स्वरोजगार शीर्षक पनि थपेर सहुलियत ब्याजदरको कर्जा १० प्रकारको बनाइएको छ । जसमा सहुलियत कर्जामा ३ लाख देखि ५ करोडसम्मको कर्जा उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL