काठमाडौं । पूर्वमा कार्यक्षेत्र भएको एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १२० करोडभन्दा बढी चुक्ता पुँजी पुर्याएर क्षेत्रीय स्तरको विकास बैंक बन्नका लागि यस विकास बैंकले राष्ट्रबैंक समक्ष हालै पुँजी वृद्धि योजना पेश गरेको छ ।
सो कम्पनीले दिएको जानकारी अनुसार अहिले बैंकको चुक्ता पुँजी ८१ करोड रुपैयाँ पुगेको छ । क्षेत्रीयस्तरको विकास बैंक बन्न रु १ अर्ब २० करोड चुक्ता पुँजी आवश्यक पर्छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरी उक्त पुँजी पुर्याउने योजना कम्पनीको चौधौं वार्षिक साधारण सभाले पारित पनि गरिसकेको छ ।
अघिल्लो बर्षको वासलात स्वीकृतिका लागि राष्ट्रबैंकमा प्रस्तुत गरिदा केन्द्रीय बैंकले तेह्रौं वार्षिक साधारण सभाबाट पारित ५० प्रतिशत हकप्रद सेयर र चौधौं वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद सेयर हालसम्म किन नल्याएको भनी प्रश्न सोधेको जनाइएको छ । कम्पनीले हालै राष्ट्रबैंक समक्ष पेश गरेको जवाफमा पहिला चुक्ता पुँजी ६९ करोडको ५० प्रतिशत हकप्रद जारी गर्ने तेह्रौ वार्षिक साधारण सभाले पारित गरेको र पछि जारी नभएको तर ६९ करोडको १७ प्रतिशत बोनस सेयर जारी भै चौधौं साधारण सभाबाट पारित भै चुक्ता पुँजी ८१ करोड पुगेको जानकारी दिएको छ । सोही साधारण सभाले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पारित गरेको छ ।
कम्पनीले दिएको जानकारी अनुसार अहिलेको वासलात स्वीकृत भएमा अघिल्लो बर्षको आम्दानीबाट करिव १२ प्रतिशत बोनस सेयर दिएपछिको चुक्ता पुँजीमा ३० प्रतिशत हकप्रद सेयर दिने योजना छ । हकप्रद जारी गरी चुक्ता पुँजी १ अर्ब २० करोड माथि पु¥याई क्षेत्रीय स्तरको विकास बैंक बन्ने योजनाका साथ राष्ट्रबैंक समक्ष पुँजी वृद्धिको योजना पेश गरिएको छ । पुँजीवृद्धि योजना पेश गरिसकेपछि हालै कम्पनीका अध्यक्ष लगायत सञ्चालक समितिका पदाधिकारीहरुले राष्ट्रबैंकका अधिकारीहरुलाई भेटेर वासलातलाई छिटो स्वीकृति दिन र साधारणसभाको बाटो फुकाइदिन आग्रह गरेका थिए ।
अहिले कम्पनीको निक्षेप करिव ११ अर्ब र कर्जा लगानी करिव १० अब रहेको छ । पुँजीकोष भन्दा बढी क्षेत्रगत लगानी गरेकोमा हालै राष्ट्रबैंकको कारवाहीमा परेको यो बैंक पटक पटक हकप्रद जारीको घोषणा गर्ने र नल्याउने गरेकोमा धितोपत्र बोर्डको कार्बाहीमा पनि पर्नसक्ने भएकोले यही कानुनी उल्झनका बीच पुससम्ममा गरिसक्नुपर्ने पन्ध्रौं साधारणसभा आयोजना गर्न सकिरहेको छैन ।