Logo

अनलाईनमार्फत विदेशी बस्तु तथा सेवा खरिद सुविधा : ५०० डलरको प्रिपेडकार्ड, राष्ट्र बैंकले राख्यो १६ शर्त

अनलाईनमार्फत विदेशी बस्तु तथा सेवा खरिद सुविधा : ५०० डलरको प्रिपेडकार्ड, राष्ट्र बैंकले राख्यो १६ शर्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरीद बापत भुक्तानी प्रयोजनका लागि ५ सय डलरसम्मको सटही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै बाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत विदेशी बस्तु तथा सेवा खरिदका लागि ५ सय डलर वा सो वराकरको परिवत्र्य विदेशी मुद्राको प्रिपेडबार्ड जारी गर्ने सुविधा दिएको हो ।

जस अनुसार वािणज्य बैंक र ख बर्गका विकास बैंकले बार्षिक अधिकतम ५ सय डलर बरारको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ ले दिएको अधिकार अनुरुप उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले जानकराी दिएको छ ।

तर त्यसका लागि राष्ट्र बैंकले विभिन्न १६ ओटा शर्तहरु लागू गरेको छ ।

जस अनुसार अनुसार प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गरिने छ । तर कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्नेछ ।

प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन्। यो प्रयोजनका लागि कार्ड जारी भई ’एक्टिभेटेट’ भएको दिनवाट समयावधि गणना शुरु हुनेछ । त्यसरी जारी गरिएका कार्डमार्फत नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशबाट खरिद गर्न सक्नेछन्।

राष्ट्र बैंकको सर्त अनुसार कार्डमा ५ सय डलरभन्दा बढी रकम राख्न पाईने छैन । साथै कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेवापत आर्जन गरेको विदेशी मुद्रा समेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ। यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ

कार्डको मौज्दात अमेरिकी डलर ५,००० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो बढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नु पर्नेछ ।

सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीको लागि विदेशी मुद्रा सटहीको बार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुनेछ। तर, यस्तो रकम बढीमा वार्षिक अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सीमित हुनेछ ।

प्रिपेड कार्ड जारी गर्दा ग्राहकबाट अन्य बैंक तथा विकास बैंकबाट त्यस्तो सुविधा नलिएको स्वघोषणा अनिवार्य रुपमा लिनुपर्नेछ । खातामा रहेको रुपैयाँ खर्च हुने गरी सम्बन्धित खातावालाको नाममा प्यान समेत भिडाई कार्ड जारी गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

ग्राहकले एकभन्दा बढी संस्थाबाट यस्तो सुविधाको उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारवाही हुनेछ ।

कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लगायतका प्रचलित कानून, नियम, निर्देशनको पूर्णतयाः पालना गर्नु पर्नेछ ।

कार्डमा जम्मा भएको रकम फिर्ता गर्नुपर्ने भएमा त्यस्तो रकमलाई सोही दिनको विनिमय दरको आधारमा प्रयोगकर्ताको खातामा जम्मा गरिदिनु पर्नेछ।

यसरी जारी भएका कार्ड अनलाइनमार्फत् वस्तु तथा सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजन बाहेक पुँजीगत कारोबारको लागि खर्च गर्न पाइने छैन । साथै, यस्ता कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, फीओएस मार्फत कारोबार गर्ने लगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्नेछ।

कार्ड प्रयोगकर्ताबाट वस्तु तथा सेवा आयातबापतको खर्च भएको रकमको बील बीजक लगायत आवश्यक विवरण माग गर्न सकिनेछ र यसरी कागजात लगायतका विवरण माग भएको अवस्थामा ग्राहकले सम्बन्धित इजाजतपत्र बैंकलाई उपलब्ध गराउनु पर्नेछ ।

तोकिएको सीमा, शर्त प्रतिकुल हुनेगरी कार्डबाट खर्च गरिएको पाइएमा त्यस्तो कार्डबाट कारोबार गर्न जुनसुकै वेलामा पनि रोक लगाउन सकिने राष्ट्र बैंकद्वारा सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL