Logo

६ महिनामा कृषि क्षेत्रमा ३८ करोडको वैदेशिक लगानी, वार्षिक ६ हजार मेट्रिकटन मासु उत्पादनको लक्ष्य

६ महिनामा कृषि क्षेत्रमा ३८ करोडको वैदेशिक लगानी, वार्षिक ६ हजार मेट्रिकटन मासु उत्पादनको लक्ष्य



काठमाडौं । पछिल्लो ६ महिनामा कृषि क्षेत्रमा ३८ करोडको वैदेशिक लगानी स्वीकृत भएको छ । चालु आर्थिक बर्षको ६ महिनासम्म कृषिसम्बन्धी २ ओटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनयता कृषिसम्बन्धी २ उद्योगमा चीनबाट सो लगानी प्रतिवद्धता आएको हो ।

जसमा एउटा मध्यम र अर्काे सानो लगानीका उद्योग रहेका छन् । विभागका अनुसार चीनबाट प्रतिवद्धता आएको कृषिसम्बन्धी मझौला उद्योगले मकवानपुरमा बार्षिक ६ हजार ८ मेट्रिक टन भैसीको फ्रोजन मासु उत्पादन गर्ने बताएको छ । यस्तै सो उद्योगले १ हजार ५ सय ७५ मेट्रिकटन हड्डी उत्पादन गर्ने जानकारी दिएको छ । उक्त उद्योगमार्फत ३२ करोड ९० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको हो । उक्त उद्योगमा ८० जनालाई रोजगारीको अवसर सिर्जना हुने बताईएको छ ।

यस्तै यस अवधिमा कृषिसम्बन्धी अर्को एक उद्योगमा पनि लगानी वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा ५ करोड रुपैयाँ लगानी गरी पशुको दाना उत्पादन गर्ने उद्देश्य राखिएको छ । चितवनमा निर्माण हुने उक्त उद्योगका लागि पनि चीनबाटै लगानीको प्रतिवद्धता आएको हो ।

पछिल्लो समय सरकारले कृषिमा विदेशी लगानी खोल्ने निर्णय गरेसँगै नेपालका किसानहरुले विरोधमा उत्रिएका छन् । किसानका अगुवा विभिन्न संघसंस्थाहरु सरकारको नीतिविरुद्ध उभिँदा यसका केही सरोकारवालाहरु भने कृषिमा विदेशी लगानी ल्याउनुपर्ने धारणा राखिरहेका छन् । सरकारले गत पुस २० गते नेपाल राजपत्रमा प्रकाशित गरेर विदेशी लगानी खुल्ला गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा कृषिसम्बन्धी वैदेशिक लगानी ल्याउँदा ठुला लगानीमात्रै अर्थात ५० करोडमाथिको लगानीमात्रै ल्याउन पाइने र उद्योगले ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने शर्त राखिएको छ ।

यस्तो शर्तसहित विदेशी लगानी खुलाउँदा पनि किसान आन्दोलनमा उत्रनुको औचित्य नभएको उद्योग विभागका महानिर्देशक जिवलाल भुषाल बताउँछन् । यस्तै विभागको तथ्यांकलाई नियाल्दा पछिल्लो २९ बर्षमा कृषि तथा वन पैदावारमा आधारित २९० उद्योगमा मात्रै विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये ३७ करोड ९० लाख रुपैयाँ लगानीका २ उद्योगहरु भने चालु आवकै ६ महिनाभित्र दर्ता भएका हुन् ।

तर यस अवधिमा सबैभन्दा बढी वैदेशिक लगानी भने पर्यटन क्षेत्रमा भित्रिएको छ । उक्त क्षेत्रमा पछिल्लो ६ महिनामा मात्रै १५ अर्व ४६ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । उक्त लगानीमार्फत देशमा १ हजार ९ सय ३३ जनालाई रोजगारीको अवसर सिर्जना हुनेछ । यस्तै धेरै वैदेशिक लगानी भित्रिने दोस्रो क्षेत्र भने सेवा क्षेत्र रहेको छ । उद्योग विभागका अनुसार पछिल्लो ६ महिनामा यो क्षेत्रका विभिन्न ३१ उद्योगमार्फत ५ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL