काठमाडौं । गत बर्ष पुषमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि किसान पुनः आन्दोलनमा उत्रिएका छन् । गत बर्ष पुष १६ गते भएको सम्झौताअनुसार चाँडोभन्दा चाँडो उखु किसानको चिनी उद्योगले दिन बाँकी बक्यौता तिराउने उल्लेख छ । तर, एक बर्षमा पनि सम्झौताअनुसार काम नभएपछि किसानहरु पुनः आन्दोलित भएका हुन् ।
किसानहरुले यसपाली सडकमा आन्दोलन गर्दा नभए सिंहदरबार र सदनसम्म घेराउ गर्ने बताएका छन् । गत बर्ष नै किसानहरु यसरी आन्दोलनमा उत्रिएपछि उद्योगमन्त्री लेखराज भट्टको नेतृत्वमा किसानसँग सरकारले ५ बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौतामा उखु किसानको बक्यौता रकम तिर्न लगाउने, किसानलाई उचित ऋणको व्यवस्था गरिनेलगायतका कुराहरु समेटिएपनि हालसम्म कुनैपनि बुँदा कार्यान्वयन नभएको किसानहरु बताउँछन् ।
सरकारले सम्झौता गरेको २ देखि ३ महिनासम्म बक्यौता तिर्न लगाउने विभिन्न क्रियाकलापहरु गरेपछि पुनः त्यसमा चासो नदेखाएकाले अझै किसानले आफुले पाउनुपर्ने बक्यौता पाएका छैनन् ।
यसरी पोहोर र यसपाली आन्दोलन गर्न आउँदा पनि गरिव किसानले पैसा नपाएपछि उनीहरु संकटमा परेका छन् । बर्षभरी ऋण काढेर उब्जाएको उखुको मूल्य नपाएपछि परिवारको जिविका चलाउनै अप्ठ्यारो अवस्था आएको सर्लाहीका उखु किसान रामेश्वर प्रसाद यादव बताउँछन् । उनको ४ बर्षअघिदेखि अन्नपुर्ण चिनी मिलले १ लाख ७२ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
आफ्नै २ बिगाहा जग्गामा उनले ऋण लिएर ४ बर्षअघि उखु उत्पादन गरेर अन्नपुर्ण चिनि मिलमा १ हजार २ सय क्विन्टल उखु बेचेका थिए । तर उतिखेरको ऋण सावाँ र ब्याजसहित गरी ५ लाख बढी पुग्दासम्म पनि चिनी मिलले पैसा नदिएको भन्दै उनि भक्कानीए । ‘लिएको ऋण बढेर ५ लाख पुग्यो तर १ लाख ७२ हजार पाउने आशामा आन्दोलनमा आएको छु,’ उनले भने, ‘ अब पनि पैसा पाईएन भने आत्महत्याको विकल्प छैन, म काठमाडौंमै मर्ने हो ।’ उनले चिनी मिलबाट १ लाख ७२ हजार भुक्तानी पाएमा बाँकी पैसा खेत बेचेर ऋण तिर्ने योजना बनाएका छन् ।
यस्तै समस्या अर्का किसान राजेन्द्र मण्डलको छ । उनले पनि अन्नपुर्ण चिनी मिलबाटै २०७४ सालयताको ३ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ । पोहोरको आन्दोलनमा पनि सरिक भएका उनले हालसम्म पनि न्याय नपाउँदा पुनः आन्दोलनमा आएका हुन् ।
हाल आन्दोलमा सहभागी ३० बढी किसानको माग नै सरकारसँग भएको सम्झौता कार्यान्वयन भएन भन्ने गुनासो भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश कुमार मिश्र बताउँछन् । सर्लाहीका उखु किसानहरु हाल गौशालाको धर्मशालामा बस्ने गरेका छन् ।