Logo

सहकारीलाई एकिकरण गरिने, जोखिम कम गर्न सहयोग पुग्ने

सहकारीलाई एकिकरण गरिने, जोखिम कम गर्न सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ असार, सिमरा । देशमा रहेका बचत तथा ऋण सहकारीलाई एकिकरण गरि एकिकृत रुपमा संचालन गरिने भएको छ । हाल देशमा सहकारी संख्या बढी भएको र जसले गर्दा जोखिम बढ्दै गएकाले देशभरका सहकारीलाई एकिकृत रुपमा संचालन गर्नेगरी एकिकरण प्रक्रियामा लैजान लागिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले बताए । ‘सहकारीहरुको संख्यात्मक वृद्धिसंगै जोखिम पनि बढिरहेको छ,’ सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष घिमिरेले भने, ‘आगामी दिनमा साकोस युनिफिकेशन प्रणालीमार्फत एउटै रंग, लोगो, साइनबोर्ड, नीति तथा पद्धति बनाई व्याजदर पनि एकै किसिमको बनाउने तयारी भैरहेको छ ।’

वित्तीय सहकारीले मुलुकको अर्थतन्त्र चलायमान र गतिशील बनाई रहेको बताउँदै समुदायमा वित्तीय साक्षरता र पुँजी परिचालनमा ठूलो योगदान रहेको बताए । आगामी दिनमा सहकारीहरु छरिएर संख्यात्मक रुपमा धेरै नभइ एकिकृत भएर गुणस्तरीय सेवा दिनका लागि एकीकरणतर्फ अघि बढन आग्रह गरेका छन् ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले संविधान बन्ने सम्भावनाले आम नागरिक खुशी भएको बताउदै सहकारीमैत्री संविधान बनाएर आर्थिक समृद्धि र सामाजिक एकताका लागि सहकारीहरुको भूमिका स्थापित गर्न माग गरेका थिए । भूकम्पपछिको राहत र उद्धारमा सहकारीहरुको भूमिका प्रभावकारी रहेको बताउदै नवनिर्माणमा सहकारी अभियानलाई सामेल गर्न र सहकारीमार्फत सहुलियत ऋण परिचालन गर्न आग्रह गरेका छन् । सहकारीहरु जागरणबाट गुणात्मक विकासको चरणमा प्रवेश गरिसकेको बताउदै पौडेलले सदस्य सेवा र एकीकरण प्रक्रियालाई अघि बढाउन तयार हुनुपर्ने बताए ।

कार्यक्रममा संस्था स्थापना र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने तात्कालिन गाविस सचिव स्व. चन्द्रप्रसाद पन्त, तात्कालिन संस्था सहायक विष्णु घिमिरे, सहकारी संस्थामा योगदान पुर्याउने सञ्चालक रामप्रसाद सिलवाललगायतलाई सम्मान गरिएको छ । १३ वर्ष अघि स्थापना भएको जनकल्याणमा हाल १ हजार १ सय सदस्यहरुवीच ४ करोडको कारोवार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्