Logo

खाद्यान्नमा आहत, तरकारीमा राहत

खाद्यान्नमा आहत, तरकारीमा राहत


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१५ जेठ, काठमाडौं । खाद्यन्नको मूल्य बृद्धिले उपभोक्ताको ढाँड सेकिरहँदा तरकारीमा भने केही राहत मिलेको छ । खाद्यन्नको मूल्य अस्वभाविक रुपमा बढेपनि बजारमा अधिकांश तरकारीको मूल्य घटेकोले उपभोक्ताले राहत महशुस गरेका हुन् ।
कालिमाटी फलफुल तथा तरकारी बजार विकास समिति अनुसार हाल बजारमा उपलब्ध मौसमी तरकारीहरुको मूल्य १० देखि ८० प्रतिशतसम्म घटेको छ ।

उपत्यका बाहिर गएका आधा भन्दा बढी जनसंख्या अझै नफर्किएकोले मागसँगै मूल्य घटेको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । ‘जनजीवन सामान्य भएसँगै फेरी तरकारीको मूल्यमा सुधार आउनसक्छ’ उनले भने ।

बैशाख १२ गतेकोे शक्तिशाली भुकम्प र त्यसपछिका पराकम्पनको त्रासले १० लाख भन्दा बढी जनता बाहिरिएकोले शुरुको एक हप्ता तरकारी अत्यन्तै न्यून मात्रामा भित्रिएको उनले जानकारी दिए । ‘तर तरकारीको विक्री बन्द भने भएको थिएन’ उनले भने ।
यस्तै उपत्यकाका अधिकांश होटल तथा रेष्टुराँ बन्द भएकोले पनि तरकारीको खपत कम भएको उनले जानकारी दिए । तरकारी बढी उत्पादन हुने जिल्ला भुकम्प प्रभावित क्षेत्र भएकोले अन्य समयमा भन्दा कम तरकारी भित्रिएको छ ।

कालिमाटी तरकारी बजारमा हाल दैनिक ४ सय ५० टन तरकारी आउने गरेको छ । अन्य समयमा ६ सय ५० टन तरकारी आउने उनले जानकारी दिए । काठमाडौं उपत्यकामा अधिकांश तरकारी धादिङ, चितवन, मकवानपुरलगायत जिल्लाबाट भित्रिने गरेको छ ।

गोलभेडाको खुद्रा मूल्य १ सय पुग्यो

अन्य तरकारीको मूल्य घटेपनी गोलभेडाको मूल्य भने अस्वभाविक रुपमा बढेको छ । उपत्यकाका खुद्रा पसलमा गोलभेडा प्रति केजी १ सय रुपैयाँका विक्री भइरहेको छ । भुकम्पले विभिन्न जिल्लाका गोलभेडा बजारसम्म नआउनुका साथै गोलभेडाको सिजन गएकोले पनि मूल्य बढेको उनले जानकारी दिए ।

vegitableprice list-
vegitableprice list-

प्रतिक्रिया दिनुहोस्