कृषि विभागले किसानका समस्या र जिल्ला कृषि विकास कार्यालयको अवस्थाबारे जानकारी लिन जिल्लासँग स्काइप मार्फत कुरा गर्ने भएको छ ।
प्रत्यक जिल्लामा पुगेर केन्द्रबाट अनुगमन गर्न खर्चिलो र झन्झटीलो हुने भएकाले यस्तो उपाय अपनाइएको विभागका महानिर्देशक युवकध्वज जीसीले जानकारी दिए । यसको संयोजन गर्ने जिम्मा विभागका उपसचिव शेषमणी भट्टराईलाइ दिइएको छ । कृषिलाई आईसीटीमा लैजाने योजनाअनुसार कुनै पनि बेला जुनसुकै जिल्लामा छड्के अनुगमन शैलीमा स्काइपबाटै आकस्मिक कुरा गर्ने महानिर्देशक जीसीले बताए ।
जिल्ला कृषि कार्यालयका प्रमुख तथा आधिकारीक कर्मचारीहरुसँग नियमित रुपमा सम्पर्क गर्न, सुचना आदानप्रदान, कार्यसम्पादनका बारे जानकारी लिन र अनुगमन गर्न यस्तो प्रबिधिको प्रयोग गर्न लागिएको हो । बालीनालीको अवस्था, रोग, उत्पादन, प्राकृतिक विपत्तिबाट हुने क्षतिको विवरण संकलन गरी केन्द्रमा पुर्याउने परम्परा सुस्त रहेको औंल्याउँदै स्काइपबाट हुने दोहोरो संवादले किसानलाई सल्लाह सुझाव र सेवा दिन सजिलो हुने बिभागको दावी छ ।