काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले आजदेखि किसानसँग गहुँ खरिद गर्न थालेको छ ।
सरकारले प्रतिक्वीन्टल तीन हजार ८ सय ६७ रुपैयाँ तथा ३८ पैसाका दरले खरिद गर्ने तोकेको समर्थन मूल्यको आधारमा गहुँ खरिद सुरु गरेको कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिए ।
धनुषा तथा महोत्तरीका किसानबाट यसवर्ष दुई हजार ५०० क्वीन्टल गहुँ खरिद गर्ने लक्ष्य रहेको छ । प्रतिकिसानबाट ५० क्वीन्टल तथा प्रतिसहकारी सँस्थाबाट ५०० क्वीन्टल गहुँ खरिद गर्ने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जनकपुरको मुजेलियास्थित कार्यालय हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटासमेत सञ्चालन गरेको छ । धनुषा तथा महोत्तरीका सम्बन्धित स्थानीय तहको सिफारिश तथा गहुँ बिक्री गर्न गहुँ सफागरी तोकेको मापदण्डको आधारमा हुनुपर्ने र किसानलाई भुक्तानी चेकमार्फत गराइने सूचनामा उल्लेख छ ।
सो कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्यको तुलनामा धान खरिद कम गरेको छ । ३२ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३४६ क्वीन्टल धान मात्र खरिद गरिएको छ ।
समर्थन मूल्यभन्दा बजार मूल्य अधिक रहेकाले किसानले आफ्नो उत्पादन निजीक्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो । सरकारले प्रतिक्वीन्टल रु तीन हजार ५८० का दरले धान खरिदगर्ने निर्देशन दिएपनि बजारमा करिव रु चार हजार प्रतिक्वीन्टलका दरले किसानले धान बिक्री गरेका थिए ।