काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ। जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार ठगी र संगठित अपराधको आरोपमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सुप्रिम सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको ठहर गरेको थियो। सुप्रिम सहकारीका १,८३१ बचतकर्ताको कुल ८६ करोड १८ लाख रुपैयाँ हिनामिना भएको अनुसन्धानमा खुलेको छ। यसमध्ये १४ करोड २९ लाख रुपैयाँभन्दा बढी गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी गरिएको पाइएको छ। थप रूपमा, २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको विवरणसमेत सार्वजनिक भएको छ।
गोर्खा मिडिया नेटवर्कले २०७७ फागुन ११ मा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो। सुरुमा यस नेटवर्कका मुख्य शेयर सदस्य गितेन्द्रबाबु राई र छविलाल जोशी थिए। तर, टिभी सञ्चालनमा आएको एक वर्ष नपुग्दै २०७८ पुस ७ मा रवि लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए। त्यसबेला राईसँग १० लाख २० हजार कित्ता ९८० प्रतिशत० शेयर रहेको थियो भने लामिछानेको १५ प्रतिशत हिस्सेदारी रहेको थियो।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका थिए। पहिलो पटक ६ दिनको म्याद सकिएपछि थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी मुद्दामा २८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।