काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार, यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ, जुन गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो। उत्पादनमा आएको यो वृद्धिले नेपालको कृषि क्षेत्रले राम्रो प्रगति गरेको संकेत गरेको छ।
धान उत्पादन वृद्धि भए पनि बाली लगाइएको क्षेत्रफल भने घटेको छ। मन्त्रालयका अनुसार, यो वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ, जुन गत वर्षको तुलनामा एक दशमलव २८ प्रतिशतले कम हो। यद्यपि, उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले यो कमीलाई पूर्ति गर्दै उत्पादनलाई उच्च विन्दुमा पुर्याएको छ। औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जसलाई हालसम्मकै उत्कृष्ट मानिएको छ।
धान उत्पादन वृद्धिका पछाडि विभिन्न कारण छन्। यस वर्ष मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय भएको थियो, जसले खेतबारीमा पर्याप्त पानी पुर्यायो। साथै, किसानहरूले समयमा रासायनिक मल र उन्नत जातको बीउ प्राप्त गरेका कारण उत्पादनमा सुधार भएको मन्त्रालयले जनाएको छ।
प्रदेशगत रूपमा हेर्दा, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। यी प्रदेशहरूमा अनुकूल मौसम, उन्नत कृषि सामग्रीको पहुँच, र व्यवस्थित खेतीका कारण उत्पादनमा सुधार देखिएको हो। तर, बाँकी तीन प्रदेशमा भने उत्पादन घटेको छ।
कर्णाली प्रदेशमा विशेषतः रुकुम (पश्चिम) जिल्लामा धान खेतीको क्षेत्रफल घटेका कारण समग्र उत्पादनमा कमी आएको छ। यस्तै, नवलपरासी ‘पूर्व’ को केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखिएको छ, जसले उत्पादनमा नकारात्मक असर पुर्याएको छ। लमजुङ जिल्लामा क्षेत्रफल परिमार्जनको कारणले पनि कुल धान बाली भित्र्याइएको क्षेत्रफल घटेको र यसले उत्पादनमा कमी ल्याएको मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयका अनुसार, नेपालका किसानले धान खेतीमा देखाएको लगाव, आधुनिक कृषि प्रविधिको उपयोग, र उन्नत बीउको प्रयोगले उत्पादन वृद्धि भएको हो। यस्ता सुधारले कृषि क्षेत्रमा थप प्रगति गर्ने आशा गरिएको छ।
धान नेपालको प्रमुख खाद्यबाली हो। उत्पादनमा भएको यो सकारात्मक वृद्धिले देशको खाद्य सुरक्षामा योगदान पुर्याउनुका साथै, कृषिमा आत्मनिर्भरता हासिल गर्ने दिशामा ठूलो टेवा पुग्नेछ।