काठमाडौं । बिहीबार मात्रै भारत सरकारले (नन बासमती राइस) सेतो चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । विश्वभर चामल निर्यातको ४० प्रतिशत हिस्सा ओगट्ने भारतले नै आफ्नो देशमा मूल्यवृद्धि रोक्नका लागि चामल निर्यात रोकिदिँदा केहि देशहरुमा भने यसको असर देखिने बताईएको छ ।
यस्तो असर नेपालमा पनि देखिने विज्ञहरु बताउँछन् । भन्सार विभागको तथ्यांक हेर्दा गत आर्थिक बर्षको ११ महिनासम्म नेपालले भारतबाट मात्रै ३३ अर्ब ९ करोड रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । जसमध्ये भारतले बिहीबार प्रतिवन्ध लगाएको हार्माेनिक कोर्ड १००६३०९० अन्तर्गतको सेतो चामल मात्रै ९ अर्ब ५६ करोड रुपैयाँ बराबरको भित्रिएको छ ।
भारतले बासमतीभन्दा फरक चालमकै निर्यातमा प्रतिवन्ध लगाउँदा नेपालमा भने यसको ठुलो असर पर्ने पूर्व कृषि सचिव तथा कृषि विज्ञ डा. योगेन्द्र कार्की बताउँछन् । उनका अनुसार नेपालमा उत्पादन हुने चामलभन्दा बढी खपत हुने भएकाले केहि मात्रामा चामल भारतलगायतका देशहरुबाट आउँछन् ।
नेपालले खपतमा केहि नियन्त्रण गर्दै धानको उत्पादन वृद्धिमा जोड दिन सकेमा कुनै देशले यस्ता वस्तुको निर्यातमा प्रतिवन्ध लगाउँदा असर नपर्ने उनको भनाई छ । ‘हाल नेपालमा बार्षिक करिव ५५ लाख मेट्रिकटन धान उत्पादन हुन्छ, तर, खपत भने ६५ लाख मेट्रिकटनसम्म हुने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘यसरी अपुग भएको धान र चामल भने भारतलगायतका देशबाट आयात गरिन्छ ।’ भारतले चामल निर्यातमा प्रतिवन्ध लगाउँदा नेपालमा पनि यसको असर देखिएर चामलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।
त्यसका लागि पनि नेपालले अब अन्य देशको भर नपरेर नेपालमै उत्पादन बढाउनमा ध्यान दिनुपर्ने अर्का कृषि विज्ञ उद्धभव अधिकारी बताउँछन् । ‘अब कुनै देशले वस्तु निकासी गर्ला र हामी पालिउँला भनेर बस्नुहुँदैन,’ उनले भने, ‘आफै उत्पादन बढाउँदै लिनुपर्नेमा नेपालका तीनै तहका सरकारहरु लागि पर्नैपर्छ ।
भारतमा ढिलोसँगै अत्याधिक मात्रामा मनसुन बर्षा भएपछि धान उत्पादन न्युन हुन गयो । जसका कारण पछिल्लो १ महिनाकै अवधिमा चामलको मूल्यमा ३ प्रतिशत र १ बर्षमा ११.५ प्रतिशतले मूल्य बढेको छ ।
यसैलाई नियन्त्रण गर्नकै लागि भारतले नन बासमति चामलको निर्यातमा प्रतिवन्ध लगाएको हो । यसअघि भारतले आन्तरिक बजारलाई सन्तुलन गर्नका लागि पटकपटक विभिन्न वस्तुको निर्यातमा प्रतिवन्ध लगाउने गरेको छ । जसका कारण नेपाललगायतका मुलुकहरुमा भारतले प्रतिवन्ध लगाएका वस्तुको मूल्य अत्याधिक बढ्ने गरेको छ । यसपल्ट पनि चामलको मूल्य बढ्ने अनुमान गरिएको छ ।
गत बर्ष भारतले कुल २ करोड २० लाख टन चामल निर्यात गरेकोमा १ करोड टन सेतो चामल मात्रै थियो । अर्थात बिहीबार भारत सरकारले चामल निर्यातमा प्रतिवन्ध लगाएसँगै करिव ७४ लाख मेट्रिकटन चामल भारतमै रहने अनुमान गरिएको छ । यसलाई आगामी बर्ष हुने भनिएको निर्वाचनमा बजारमूल्य नियन्त्रण गर्नका लागि अघि बढाईएको कदम पनि भनिएको छ ।
यसरी भारले यस्तो कदम चाल्दा नेपालमा भने यसको सबैभन्दा ठुलो असर चामलको मूल्यमा पर्ने कृषि विज्ञ कृष्ण पौडेल बताउँछन् । भारतले यसअघि पनि गत बर्ष चामलको निर्यातमा कर बढाएर रणनीतिक प्रतिवन्ध लगाईसकेको थियो । यस बर्ष त पुरै ठप्प पारेपछि नेपालमा चामलको उपलब्धता र मूल्यमा ठुलो असर पर्ने उनको भनाई छ । यसको असर बजारमा देखिन सुरु भईसकेकोसमेत उनले बताए ।