Logo

आठ महिनामा १ अर्ब ७१ करोडको छुर्पी नेपालबाट निर्यात, बढ्दो निर्यात व्यापारघाटामा राहत होला ?

आठ महिनामा १ अर्ब ७१ करोडको छुर्पी नेपालबाट निर्यात, बढ्दो निर्यात व्यापारघाटामा राहत होला ?



काठमाडौं । नेपालको बढ्दो आयात र व्यापार घाटाका बीच केही नेपाली उत्पादनको निर्यात भने निरन्तर उकालो लागिरहेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पछिल्लो ८ महिनाको वैदेशिक व्यापारको तथ्यांकमा छुर्पीको निर्यात बढेको देख्न सकिन्छ । छुर्पी शुद्ध नेपाली उत्पादन हो । नेपालमा उत्पादन हुने छुर्पी नेपाली दूधकै हुने भएकाले यो शुद्ध नेपाली उत्पादनको रुपमा मानिने नेपाल निर्यात परिषदका अध्यक्ष रेशम पोख्रेल बताउँछन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पछिल्लो ८ महिनामा १ अर्ब ७१ करोड ४९ लाख ८० हजार रुपैयाँ बराबरको १० लाख ६३ हजार ६ सय ९४ किलो छुर्पी विदेश निर्यात भएको छ । अमेरिकालगायत देशमा कुकुर र बिरालोको खानाको शिर्षकमा निर्यात हुने छुर्पी गत आवको सोही अवधिमा भने १ अर्ब १९ करोड ९७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७४ हजार ८ सय १४ किलो निर्यात भएको थियो ।

यो संख्यालाई हेर्दा चालु आवमा गत आवको सोही अवधिको तुलनामा छुर्पी निर्यात झण्डै ७० प्रतिशतले बढी हो । नेपालबाट अमेरिकालगायतका देशमा शून्य भन्सारमा छुर्पी निर्यात हुँदै आएको छ । यसले नेपालको छुर्पी निर्यातको सम्भावना उच्च रहेको देखाउने निर्यात परिषदका अध्यक्ष पोख्रेल बताउँछन् ।

साढे ५ बर्षमा ७ अर्ब ३६ करोडको निर्यात

पछिल्लो साढे ५ बर्षमा मात्रै नेपालबाट विभिन्न देशहरुमा ७ अर्ब ३६ करोड ७१ लाख ३६ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी)का अनुसार नेपालबाट विभिन्न देशमा जाने छुर्पीको निर्यात बर्षेनी ६० देखि ८० प्रतिशतले वृद्धि भईरहेको देखिन्छ ।

तथ्यांक अनुसार आव २०७३-७४ मा ५४ करोड ७९ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा आव २०७४-७५ मा बढेर ८५ करोड ७९ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो । यस्तै आव २०७५-७६ मा १ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा आव २०७६-७७ मा बढेर १ अर्ब २२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आर्थिक बर्ष अर्थात २०७७-७८ को बर्षभरी १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा चालु आर्थिक बर्षको पछिल्लो ८ महिनामा मात्रै १ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ बराबरको छुपी निर्यात भएको हो ।

नेपाल निर्यात परिषदका अध्यक्ष रेशम पोख्रेल मनोरम हिमालयन ह्यान्डिक्राफ्टका अध्यक्ष पनि हुन् । उनको कम्पनीले नेपालबाट सबैभन्दा बढी छुर्पी तेस्रो मुलुक निर्यात गर्ने गरेको छ । गत आर्थिक बर्षभर उनको कम्पनीले मात्रै ८० करोड बराबरको छुर्पी निर्यात गरेकोमा यो बर्ष बढाएर १ अर्ब ५० करोड बढी पुर्याउने लक्ष्य लिएको छ ।

अमेरिका, क्यानडा, जापान, बेलायतलगायतका देशमा नेपालको छुर्पीको अत्याधिक माग भएका कारण नेपाली व्यवसायीलाई माग धान्नै मुस्किल पर्ने उनी बताउँछन् । यता टीईपीसीका वरिष्ठ अधिकृत तथा तथ्यांक विश्लेषक कृष्णराज बजगाईँ पनि नेपालबाट बाहिरिने उनी, फेल्ट र छुर्पीको निर्यात अत्याधिक बढेको बताउँछन् ।

अमेरिकालगायतका देशहरुमा नेपालको छुर्पी कुकुर र बिरालोको आहाराको रुपमा निर्यात हुँदै आएको छ । नेपाली उत्पादन जस्तै छुर्पी विश्वका अन्य देशमा बनाउने कोशिष गरिएपनि नसकिएका कारण नेपाली छुर्पीको माग बढ्दो रहेको परिषदका अध्यक्ष पोख्रेल बताउँछन् । उनका अनुसार नेपालमा दूधको भरपुर आपुर्ति गर्न सकिए छुर्पीको उत्पादन अत्याधिक बढाई व्यापारघाटा न्यूनीकरण गर्न सकिने अवसर रहेको छ ।

चीन, भारतल कम्बोडियालगायतका देशले यसको उत्पादनका लागि प्रयास गरेपनि भनेबमोजिम उत्पादन गर्न सकिरहेका छैनन् । यस्तै कोलम्बियाले नेपाली व्यवसायीसँग अनुरोध गर्दै छुर्पी उत्पादनमा सहयोग गर्न आग्रह गरेपछि व्यवसायीले नै नेपालबाट केही जनशक्ति कोलम्बिया पठाएका थिए । तर, त्यहाँ पनि भनेबमोजिमको गुणस्तरको छुर्पी उत्पादन भने हुन सकेन ।

सन २०२० सम्म विश्वभर छुर्पीलगायत कुकुर र बिरालोको खानाको निर्यात बजार १ करोड ७५ लाख ५३ हजार डलर बराबरको छ । नेपालमा छुर्पी उत्पादन गरी विदेश निर्यात गर्ने ८ देखि १० ओटा उद्योग छन् । त्यसअघि नेपालमा छुर्पी उत्पादन गरी विदेशमा पठाउने २० ओटासम्म उद्योग भएपनि क्वालिटी मेन्टेन गर्न नसक्दा धेरै उद्योग पलायन भएर गए ।

नेपालमा उत्पादन गरिएको छुर्पी अमेरिका, क्यानडा, जापान, बेलायतलगायत ३१ देशमा निर्यात हुन्छ । यी देशहरुमा लेबलिंग, प्याकेजिंग, हाईजीन मेन्टेनलगायतका गुणस्तरका कुराहरुमा भने बिशेष ध्यान दिन सके शुन्य भन्सारमै अमेरिका निर्यात गर्न सकिने अवसर छ । अमेरिकामा मात्रै सन २०२१ भर १५ लाख २१ हजार डलर बढीको कुकुर र बिरालोको खाना आयात भएको छ । त्यसमध्ये अमेरिकामा यस्तो वस्तु धेरै पठाउने मुलुकको १२ औं स्थानमा नेपाल परेको छ । अमेरिकामा बर्षेनी २ देखि ४ लाख डलरले कुकुर र बिरालोको खानाको आयात बढिरहेको तथ्यांकमा देख्न सकिन्छ । यसले नेपालमा उत्पादन हुने छुर्पीको माग आगामी बर्षहरुमा पनि बढ्न सक्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्