Logo

बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह, सरकारसँग शान्ति सुरक्षा माग

बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह, सरकारसँग शान्ति सुरक्षा माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३ भदौं, काठमाडौं ।
नेपाल उद्योग वािणज्य महासंघले विभिन्न माग राखि आह्वान गरिएका सवै प्रकारका बन्द हड्ताल फिर्ता लिन आग्रह गरेको छ । बन्द हड्तालबाट राज्यले निकै ठूलो नोक्सानी बेहोर्नु परेको तथा सर्वसाधारण जनताले सास्ती खेप्नु परेको भन्दै त्यस्ता कार्यक्रम फिर्ता लिन माहसंघले सवैमा आग्रह गरेको हो ।

महासंघले बिहीवार विज्ञप्ती निकाली संविधान निर्माणको अत्यन्त महत्वपूर्ण घडिमा सवैमा संयमता अपनाउन अपिल गर्दै जारी बन्द हड्तालका सवै कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । ‘मुलुकका अधिकांश भागमा जारी बन्द, हड्तालप्रति महासंघ अत्यन्त चिन्तित भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘निरन्तरको बन्द हड्तालबाट राज्यले निकै ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको तथा सर्वसाधारणले समेत ठूलो सास्ती व्यहोर्नु परेको छ ।’ बन्द हडताल फिर्ता लिएर मुलुकलाई थप वर्वादी हुनबाट जोगाउन सम्बन्धित सवै पक्षसंग गम्भीर आग्रह गरेको छ ।

विभिन्न मागमा गरिएको बन्द हड्तालले देशभरका उद्योग व्यवसाय नराम्ररी प्रभावित भएको महासंघले जनाएको छ । नेपालगंज लगायतका क्षेत्रमा उद्यमी व्यवसायी माथि भएको संघातिक आक्रमणबाट सुरक्षा चिन्ता बढ्नुको साथै निजी क्षेत्र थप त्रसिद हुन पुगेको महासंघको ठहर छ । महासंघले त्यस्ता आक्रमणको निन्दा एवं भत्सर्ना समेत गरेको छ । महासंघले सरकारसँग शान्ति सुरक्षाको व्यवस्था मिलाउन जोडदार माग समेत गरेको छ । ‘आजको अत्यन्त कठिन परिस्थितिमा सवैमा संयमता अपनाउन अपिल गर्दै जारी बन्द हड्तालका सवै कार्यक्रम फिर्ता लिई मुलुकलाई थप वर्वादी हुनबाट जोगाउन महासंघ सम्बन्धित सवै पक्षसंग गम्भीर आग्रह गर्दछ’ विज्ञप्तीमा भनिएको छ, ‘मुलुकभित्र शान्ति सुरक्षा वहाली गरि जनताको बांच्न पाउने अधिकारको प्रत्याभुति गर्न महासंघ नेपाल सरकार समक्ष जोडदार माग समेत गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्