Logo

१ महिनामै सकियो बैंकमा थुप्रिएको साढे ५ सय किलो सुन

१ महिनामै सकियो बैंकमा थुप्रिएको साढे ५ सय किलो सुन


रामराजा श्रेष्ठ
54
Shares

रामराजा श्रेष्ठ

२५ साउन, काठमाडौं । बैंकमा थुप्रिएको सुन १ महिना नपुग्दै सकिएको छ । झण्डै १ महिना अघिसम्म बैंकमा ५ सय ३३ किलो सुन थुप्रिएकोमा हाल सवै सुन बिक्री भएको नेपाल बैंकर एशोसियसनका उपाध्यक्ष तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘केही समय अघिसम्म बैंकको सुन नविकेर स्टकमा रहेको थियो,’ उनले भने, ‘तर, अहिले बजारको माग पुरा गर्न सकिएको छैन ।’

त्यतिबेला सुनको भाउ महङ्गो भएर बजारमा माग कम भएकोले बैंकमा थुप्रिएको थियो । तर, पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्य घटेसँगै बैंकमा स्टक रहेको सम्पूर्ण सुन सकिएको बज्राचार्य बताउँछन् । ‘पहिला दैनिक ३/४ किलो मात्र सुन विक्री हुन्थ्यो,’ उनले भने, ‘अहिले पहिला स्टक रहेको सुनका साथै दैनिक रुपमा आयाता गरेको सुनले पनि बजारको माग धान्न सकेको छैन ।’ हाल बैंकहरुले दैनिक रुपमा पालैपालो २० किलोग्राम सुन आयात गर्दे आएका छन् ।

बज्राचार्यका अनुसार बैंकहरुले महङ्गोमा सुन आयात गरेर सस्तोमा बेच्दापनि घाटा व्यहोर्न नपर्ने बताउँछन् । ‘बैंकहरुले सुन आयात मात्र गर्ने हो,’ उनले भने, ‘सुनको भाउ घट्दा वा बढ्दा त्यसको असर सप्लायरलाई पर्न जान्छ ।’ बैंकले जति मुल्यमा सुन विक्री गर्यो सप्लायरलाई सोही मुल्य दिने समेत उनले जानकारी दिए । हाल बैंकहरुले संयुक्त अरव इमिरेट्सबाट सुन आयात गर्दै आएका छन् ।

विगत १ वर्षयता बजारमा अपेक्षित रूपमा सुन बिक्री नभएपनि पछिल्लो १ महिनामा बजारमा सुनको माग एकदमै बढेको छ । आर्थिक वर्ष २०७०/७१ मा नेपालमा ६ हजार ५० किलो सुन आयात भएकामा चालू आवको सोही आवमा घटेर १ हजार ५ सय ५० किलो मात्र आएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यो गत आवको आयातको तुलनामा करीब २५.६१ प्रतिशत मात्र हो । यस्तै आव ०६९/७० मा बैंकहरूले ५ हजार ७ सय ७७ किलो किलो सुन आयात गरेका थिए ।

यता व्यवसायीहरुले भने अझै पनि बैंकहरुले सुन लुकाएर राखेको आरोप लगाउँदै आएका छन् । बैंकहरुले सुन लुकाएकै कारण बजारमा अभाव भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न साक्यले बताए । ‘अन्तरराष्ट्रि बजारमा मुल्य बढ्दा बैंकहरु सुन स्टक छ भनेर कराउन थाल्छन्,’ उनले भने, ‘तर, मुल्य घट्न थाल्यो भने सुन छैन भन्छन् ।’

प्रतिक्रिया दिनुहोस्